Monday, 8 March 2010

नव वर्ष २०६७ को कार्यक्रम सम्बन्धि जानकारी

-------------------------------------------------------------------------------------------------------------------------------------------------------
**यस अघिको ब्लगमा यो कार्यक्रम १३ अप्रिल २०१० मा गर्ने भनिएपनि बिभिन्न प्राविधिक कठिनाईहरुका कारण केहि दिन पर सार्नुपरेको कुरा अवगत गराउनुका साथै यसबाट पर्नगएको असुविधाको लागि क्षमा चाहन्छौं। **
-------------------------------------------------------------------------------------------------------------------------------------------------------

बिभिन्न साँस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमहरुको साथ नव वर्ष २०६७ लाई स्वागत गर्ने अभिप्रायले आउँदो १७ अप्रिल २०१० (०४ बैशाख २०६७) शनिवारको दिन वेल्स नेपाली समुदाय, कार्डिफले "नयाँ वर्ष २०६७" कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ। उक्त कार्यक्रममा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीको उपस्थिति एवं सहभागिताको अपेक्षा गर्दछौं। बिगतका कार्यक्रमहरु झैं यो कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभाव अपरिहार्य रहने छ। यो बिरानो मुलुकमा पनि हातमालो गर्दै आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन हात बढाऔं।

कार्यक्रम सम्बन्धि जानकारी यसप्रकार छ।

मिति : १७ अप्रिल २०१० (०४ बैशाख २०६७), शनिवार
समय : १५:०० बजे देखि २२:०० बजे सम्म
स्थान : St. Alban's Rugby Club
Tremorfa Park
Tremorfa
Cardiff
CF24 2RN
(कार्यक्रम स्थलको नक्सा ठुलो पारि हेर्न नक्सामै क्लिक गर्नुहोला)


बिगतका कार्यक्रमहरु जस्तै यसपालि पनि कार्यक्रम स्थलमा प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ। टिकट अग्रिम खुला गरिएको हुनाले आफ्नो नजिक पर्ने कार्यसमिति सदस्यहरु मार्फत तोकिएको शुल्क तिरि टिकट लिन सकिनेछ।

टिकट दर यसप्रकार छ।
प्रतिव्यक्ति: १० पाउन्ड (१६ वर्ष वा सो भन्दा माथि)
५ पाउन्ड (१० वर्ष वा सो भन्दा माथि देखि १६ वर्ष मुनि सम्म)

नोट: १० वर्ष मुनीका वालवालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

अन्य जानकारीको लागि यस संस्थाका कुनैपनि कार्यसमिति पदाधिकारीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

Sunday, 7 March 2010

वेलायती सांसद र वेल्स एसेम्बलि सदस्यसँग भेटघाट

वेल्स नेपाली समुदाय, कार्डिफका सदस्यहरुको हित तथा स्थानीय कार्यक्रमहरुमा स्थानीय समुदायसँग सहकार्य जस्ता कुराहरुमा सामन्जस्य गर्ने उदेश्यले ५ मार्च २०१०, शुक्रवारको दिन हाम्रो संस्थाको एक प्रतिनिधि मण्डलले कार्डिफ सेन्ट्रललाई प्रतिनिधित्व गर्ने वेलायती संसद सदस्य "जेनि विल्लट" तथा वेल्स एसेम्बलि सदस्य "जेनि रेन्डरसन" सँग भेटघाट गर्यो। संस्थाका अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फे, सह-कोषाध्यक्ष श्रीमती संगिता गुरुङ, सदस्य शिवजी श्रेष्ठ र युवा बिधार्थीको प्रतिनिधित्व गर्दै सुश्री सिमरन तुम्बाहाम्फे संलग्न हुनुहुन्थ्यो। गत वर्ष अगस्ट महिनामा स्थापना गरिएको हाम्रो समुदायले कार्डिफ एवं वरपर बसोबासरत नेपाली तथा नेपाली मूलका वेलायती नागरिकहरुलाई सामाजिक रुपमा संगठित गरि बिभिन्न कार्यक्रमहरु संचालन गरिसकेको छ। स्थानीय निकाय एवं समुदायसँग सहकार्य गर्ने उदेश्यले यस अघि पनि स्थानीय काउन्सिलर हुँदै सांसद एवं एसेम्बलि सदस्य सँग भेटघाट गरिएको हो।
उक्त भेटको अवसरमा हाम्रो प्रतिनिधि मण्डलले नेपालीहरुको वेलायतको स्थिति, वेल्समा नेपालीहरुको आगमन, संस्थाको उदेश्य, स्थानीयता सँगको सहकार्य, पूर्व गोर्खा सैनिकको समस्या, नेपाली विधार्थीहरुले भोग्नुपरेको बर्तमान समस्या, नेपाली कला, संस्कृति सँगै स्थानीय निकायले संचालन गर्ने कुनैपनि सामाजिक, साँस्कृतिक कार्यक्रममा नेपाली समुदायको सहभागिता, वेल्स तथा नेपाली बिधार्थीहरुबिच साँस्कृतिक आदानप्रदान लगायतका बिषयहरुमा छलफल भएको थियो। सो भेटघाटमा सांसद तथा एसेम्बलि सदस्यहरुले अभिरुचिपूर्वक नेपालीहरुको वेल्समा उपस्थिति, संख्यात्मक स्थिति, नेपाली संस्कृति, नेपाली बालबालिकाहरुको साथै नेपाली राष्ट्रिय दिवसको बारेमा समेत चासो राखेका थिए। सो अवसरमा सांस्द एसेम्बलि सदस्यहरुले नेपाली राष्ट्रिय दिवसमा आफुहरुलाई पनि सहभागि गराउन र वेल्सको स्थानीय गतिविधिमा नेपालीहरुलाई सहभागि हुन अनुरोध पनि गरे।
सहकार्य, साँस्कृतिक सहसम्बन्ध र सदभावको चिनारी दिने उदेश्यले हाम्रा प्रतिनिधिहरु कोहि नेपाली दौरासुरुवाल, कोहि नेपाली महिला पोशाक, कोहि स्थानीय वेल्सको चिन्ह झल्किने पोशाकमा गएका थिए। यस्तो कार्य र नेपाली प्रतिनिधिहरुबाट आफुहरु प्रभावित भएको बताउँदै सांसद विल्लटले यसलाई सकारात्मक रुपमा लिएको भन्दै सहकार्यको लागि आफुहरु उत्सुक रहेको समेत उल्लेख गरिन।
भेटघाटको क्रममा वेल्स नेपाली समुदाय, कार्डिफको तर्फबाट अध्यक्ष चित्र बहादुर राईले वेल्स एसेम्बलि सदस्यलाई कलात्मक नेपाली आँखिझ्याल तथा विश्वप्रसिद्ध परम्परागत नेपाली खुकुरीको मिनियचर पनि प्रदान गर्नुभएको थियो।

Tuesday, 2 March 2010

हार्दिक समवेदना

ल्यानरमनी, कार्डिफ निवासी यस संस्थाका सदस्य श्री बिभूषणमान श्रेष्ठ का पुजनीय पिता श्री सूर्यमान श्रेष्ठ को २३ फेब्रुवरी २०१० का दिन नेपालस्थित आफ्नै थलोमा ७३ वर्षको उमेरमा असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिका लागि ईश्वरसँग प्रार्थना गर्दै यस दु:खद धडिमा शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं।
- वेल्स नेपाली समुदाय, कार्डिफ


Thursday, 11 February 2010

राजदुत डा. चालिसेको स्वागत कार्यक्रममा हाम्रो सहभागिता

गत आईतबार ७ फेब्रुवरि २०१० को दिन एन. आर. एन. युके ले वेलायतका लागि नवनियुक्त नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको सम्मानमा एक स्वगत कार्यक्रमको आयोजना गरेको थियो। ईलिङ, लण्डन मा आयोजित ऊक्त कार्ययक्रम एन. आर. एनका श्री सुर्य गुरुङलको अध्यक्षतामा सम्पन्न भएको थियो। बेलायतबासी नेपालीहरुको बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु बिच चिनजान गराऊने उदेश्य सहित आयोजना गरिएको कार्यक्रममा वेल्सलाई प्रतिनिधित्व गर्दै यस संस्थाका अध्यक्ष श्री चित्र बहादुर राई, वेल्स गोर्खा कम्युनिटि, कुम्बरानका भु. पु. अध्यक्ष श्री बद्रि लिम्बु र एन. आर. एनका सल्लाहकार श्री शिवजी श्रेष्ठले भाग लिनुभएको थियो।
यस अवसरमा राजदूत डा. चालिसेले विदेशमा बस्ने हरेक नेपालीले नेपालको वर्तमान आर्थिक अवस्थामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुका साथै नेपाली कला र संस्कृतिलाई विदेशमा पनि निरन्तरता दिनु पर्ने कुरामा ध्यान आकृष्ट पार्नु भएको थियो। उहाँले विदेशी लगानिका साथसाथै नेपालीले विदेशमा सिकेको शिपलाई नेपालको विकाशमा प्रयोग गर्नुपर्ने कुरामा पनि जोड दिनुभएको थियो। अब आऊने दिनहरुमा गैरआवासीय नेपालीहरुसँग नजिकको सम्बन्ध राख्दै भु. पु. गोर्खाहरुको समश्यालाई समेत नजिक बाट हेर्ने बिचार प्रकट गर्नुको साथै भविश्यमा वेल्समा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सँग पनि भेटघाटको लागि आउने विचार व्यक्त गर्नु भयो।
राजदूतका विचारहरु हेर्न तल थिच्नुहोस।




Tuesday, 29 December 2009

भावपुर्ण श्रद्धाञ्जली


ल्यानरमनी, कार्डिफ निवासी यस संस्थाका सदस्य श्री पुष्कर लाल तिमिला का पुजनीय पिता श्री पशुपति लाल तिमिला को २४ डिसेम्बर २००९ का दिन ७१ वर्षको उमेरमा भक्तपुर, नेपाल स्थित निवासमा असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिका लागि ईश्वरसँग प्रार्थना गर्दछौं। यस दु:खद धडिमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
- वेल्स नेपाली समुदाय, कार्डिफ


Monday, 30 November 2009

नेपाली नयाँ वर्ष मनाउने

वेल्स नेपाली समुदाय, कार्डिफको २८ नोभेम्बर २००९ को दिन बसेको चौथो बैठकको निर्णय अनुसार यहि आउँदो १३ अप्रिल २०१० (३१ चैत्र २०६६) मंगलवारको दिन साँझ बिक्रम सम्बत २०६६ लाई बिदा गर्दै नव वर्ष २०६७ लाई स्वागत गर्ने अभिप्रायले बिभिन्न मनोरंजनात्मक कार्यक्रमहरुको साथ "नयाँ वर्ष २०६७" कार्यक्रम भब्य रुपमा मनाउने निधो भएको छ।
यस कार्यक्रमको स्थान, समय तथा अन्य आवश्यक सुचनाहरु यथासक्य चाँडो यसै ब्लग मार्फत सम्बन्धित सबैलाई जानकारी गराइने छ।

Sunday, 29 November 2009

हामि गौरवान्वित छौं

यस संस्थाका संस्थापक सदस्य श्री शिवजी श्रेष्ठ "गैर आवासीय नेपाली संघ, संयुक्त अधिराज्य (NRN, UK)" जस्तो गरिमामय संस्थाको सल्लाहकारमा मनोनित हुनुभएकोमा सम्पुर्ण कार्डिफवासी नेपाली गौरवान्वित भएका छौं।
यस सफलताको लागि वहाँलाई हार्दिक बधाई दिंदै वहाँको सफल कार्यकालको लागि मंगलमय शुभकामना व्यक्त गर्दछौं।
-- वेल्स नेपाली समुदाय, कार्डिफ

हार्दिक धन्यवाद

हाम्रो संस्थालाई बिभिन्न महानुभावहरुले आ-आफ्नो तरिकाले माँया प्रदान गर्नुहुने क्रम जारिनै छ। भर्खरैमात्र हाम्रा शुभचिन्तकहरुले बिभिन्न किसिमका उपहारहरु यस संस्थालाई प्रदान गर्नुभएको छ। वेल्स नेपाली समुदाय, कार्डिफ निम्नलिखित महानुभावहरुलाई वहाँहरुले प्रदान गर्नुभएको उपहारको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

रि.मे. श्री दल बहादुर लिम्बु --- १ सेट डाइस र २ सेट त्रिपासा
श्री मोती प्रसाद पुन --- वेल्स नेपाली समुदाय, कार्डिफको तुल (Banner)
श्री विर बहादुर गुरुङ --- कोथिभेडा खुकुरी


Sunday, 22 November 2009

दशैं-तिहार कार्यक्रममा प्रस्तुत गरिएका केहि मनोरंजनात्मक कार्यक्रमका झलकहरु

साना नानीहरु प्रान्जिल र प्राजन पोखरेलको यो रमाइलो नृत्य: "काफल गेडि कुटुक्कै" गितको बोलमा

छोरी माग्न जाँदा" गित प्रस्तुत गर्दै रोशन भट्टराई