Thursday, 24 September 2009

वेल्स नेपाली समुदाय, कार्डिफको विधान पारित

२० सेप्टेम्बर २००९, आइतवार को दिन वेल्स नेपाली समुदाय, कार्डिफको दोश्रो बैठक बस्यो। उक्त बैठकमा श्री शिवजी श्रेष्ठले प्रस्तुत गर्नुभएको यस संस्थाको बिधान ब्यापक छलफल गरि सर्वसम्मतिले पारित भयो र यसै मितिदेखि लागु भएको घोषणा गरियो।
श्री चित्र बहादुर राईको अध्यक्षतामा बसेको उक्त बैठकमा आगामी दशैँ-तिहार भेला को कार्यक्रम बारेमा छलफल गरि समितिका पदाधिकारीहरु बिच कार्यबिभाजन गरिएको छ।

Saturday, 19 September 2009

Thursday, 10 September 2009

अत्यन्त जरुरी सूचना

कार्डिफ वरपर बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई "वेल्स नेपाली समुदाय, कार्डिफ" को गठन भएको अवगत नै छ। यस संस्थालाई बलियो र ससक्त बनाइ आगामी दिनमा हामी सबैको साझा थलो बनाउन यहाँहरुको सहयोग अपरिहार्य छ। यस संस्थासँग आवद्ध सबैजनालाई एकआपसमा छिटो छरितो तरिकाले सुचना आदान प्रदान होस भन्ने हेतुले हाम्रा कार्यहरु अघि बढिरहेका छन जसको लागि हामीलाई यहाँहरुको सम्पर्क ठेगाना एकदमै आवश्यक हुन्छ। त्यसैले यहाँहरुले आफ्नो नाम, हुलाक ठेगाना, ईमेल र फोन नं हामीलाई यथासक्य चाँडो यस संस्थाको इमेलमा (wnccardiff@yahoo.co.uk) अथवा ०७९८८७५६७८४ मा Text मार्फत उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
आफ्नो ईमेल पनि उपलब्ध गराइदिनुहुने महानुभावहरुको ईमेल हामीले समुहगत ईमेलमा राख्नेछौ जसको जानकारी तपाँइको इमेल मा wnc_cardiff Moderator को नामबाट Yahoo! Groups: You're invited! Join wnc_cardiff today भनेर आउनेछ। उक्त इमेल खोल्नुहोस र त्यसमा यस्तो देख्नुहुनेछ।
Join this group मा थिच्नुहोस। यसो गरेपछि तपाईको इमेल हाम्रो समुहगत इमेलमा दर्ता हुनेछ जसको जानकारी फेरि तपाईको इमेलमा आउनेछ। यसरी तपाईको इमेल दर्ता भएपछि तपाईले एउटा इमेल ठेगाना (wnc_cardiff@yahoogroups.co.uk) मा इमेल पठाउँदा सम्पुर्ण सदस्यहरु (जस जसको इमेल दर्ता भएको छ) लाई एकैपटक इमेल पुग्नेछ। यसो गर्दा छुट्टाछुट्टै सदस्यहरुको छुट्टाछुट्टै ठेगाना लेखिरहनुपर्ने झन्झट हुने छैन र तपाईले पनि अन्य सदस्यहरुले समुहगत रुपमा लेखेको इमेल प्राप्त गर्न सक्नुहुनेछ।

ध्यान रहोस: व्यक्ति विशेषलाई पठाउने इमेलहरु चैं वहाँकै व्यक्तिगत इमेलमा पठाउनु होला। सम्पुर्ण सदस्यहरुलाई पठाउने इमेल मात्र wnc_cardiff@yahoogroups.co.uk मा पठाउनु होला।
यहाँहरुको सहयोगको लागि धन्यवाद।

Tuesday, 1 September 2009

"दशैं - तिहार २००९" भेला आयोजना गरिने

वेल्स नेपाली समुदाय, कार्डिफले यस क्षेत्र वरिपरी बस्ने नेपालीहरु बिच मनोरन्जन गर्ने तथा आफ्नो मौलिक सांस्कृतिक परम्परालाई विदेशमा पनि निरन्तरता दिने उद्देश्यले यस वर्षको विजया-दशमी तथा तिहारको उपलक्ष्यमा नेपाली कला र संस्कृति झल्काउने बिभिन्न कार्यक्रमका साथ "दशैं - तिहार २००९" भेला उल्लासपूर्ण तरिकाले मनाउने निधो गरेको छ। उक्त कार्यक्रम निम्न मिति र स्थानमा हुने जानकारी गराउन चाहन्छौं।

मिति : २४ अक्टुवर २००९, शनिवार
स्थान : Roath Conservative Club
7/11 Cyril Crescent
Roath
Cardiff
CF24 1DQ

कार्यक्रम सम्बन्धि अन्य जानकारीहरु यथासक्य छिटो यसै ब्लगमा राखिने छ।

Sunday, 30 August 2009

वेल्स नेपाली समुदाय, कार्डिफको पहिलो बैठक र निर्णयहरु

वेल्स नेपाली समुदाय, कार्डिफको पहिलो बैठक २९ अगष्ट २००९, शनिवार को दिन श्री चित्र बहादुर राई को अध्यक्षतामा सम्पन्न भयो। उक्त बैठकले निम्न लिखित निर्णयहरु गरेको छ।
‍‍‍‍‌‌‍‍* आगामी अक्टुवरको मध्यतिर दशैं तिहार को अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरि हर्षोउल्लासका साथ दशैं-तिहार नेपाली भेला गर्ने
* यस संस्था सँग आवद्ध हुन चाहने नेपालीहरुमा सदस्यता प्रणाली लागु गर्ने
* आगामी बैठकमा यस संस्थाको विधान तर्फ छलफल गर्नेगरि विधान निर्माण प्रक्रियाको थालनी गर्ने
* यस संस्थाको आफ्नै ब्लग औपचारिक रुपमा सुरुवात गर्ने

Tuesday, 25 August 2009

कार्डिफ मा प्रथम नेपाली भेला सम्पन्न, "वेल्स नेपाली समुदाय, कार्डिफ" गठन

सामाजिक परिवेशमा हुर्कने बढ्ने बानी भएको हामी नेपालीलाई परदेशमा पनि त्यहि परिवेशको चाहना हुनु स्वाभाविक नै हो। मर्दा र पर्दा आफ्नै मान्छे चाहिन्छ भन्ने हाम्रा अग्रजहरुको भनाईलाइ चरितार्थ पार्दै वेल्सको राजधानी कार्डिफको वरिपरी बस्ने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु खेल्ने र रम्ने एउटै आँगन बनाउने उद्देश्यले २२ अगस्ट २००९, शनिवारको दिन कार्डिफ स्थित स्थानीय पवमा प्रथम नेपाली भेला आयोजना गरियो।
लगभग १८० जना नेपालीहरुको उपस्थिति रहेको उक्त भेलामा नेपाली खानाको स्वाद तथा नेपाली नाचगान द्वारा भरपुर मनोरन्जन प्रदान गरिएको थियो। भेलामा उपस्थित सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुको सल्लाह र सहमति अनुरुप कार्डिफ वरपर बस्ने नेपालीहरुबिच आपसी सदभाव र सहकार्यको लागि संस्थागत रुपमा अघि बढ्न राजनिति, धर्म, सम्प्रदाय, जातजाति बाट माथि ऊठि नितान्त नेपाली मात्रको एक संस्थाको रुपमा "वेल्स नेपाली समुदाय, कार्डिफ" को गठन गरियो। यसै भेलाद्वारा सर्वसम्मतिले श्री चित्र बहादुर राईको अध्यक्षतामा यस संस्थाको १५ सदस्यीय प्रथम कार्यसमितिको पनि चयन गरेको छ।
यस संस्थाको उत्तरोत्तर प्रगतिको लागि यहाँहरूको सहयोग र सुझावको सँधै अपेक्षा गर्दछौ र आगामी दिनमा अझ ससक्त ढंगले अधि बढि बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबध्दता व्यक्त गर्न चाहन्छौं। यो प्रथम भेलामा सहभागि सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्दै उक्त भेलालाई अत्याधिक मनोरंजक एवं सफल बनाउन आफ्नो अमुल्य समय खर्चेर सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं।
BAR YK पवका गेरेथ मोरगन, स्पाइस रुट रेष्टूरेन्टका मेनेजर र श्रीमान् श्रीमती आइत गुरुङ लाई वहाँहरुको सहयोगको लागि विशेष धन्यवाद दिन चाहन्छौ।



भेलाका केहि झलकहरु हेर्न तल थिच्नुहोस।