Sunday, 5 July 2020

नेपाली समाज वेल्सद्वारा दुइ दर्जन विद्यार्थीलाई राहत सहयोग

कार्डिफ, नेपाली समाज वेल्सले कोरोना महामारीका बेला अफ्ठेरोमा परेका विद्यार्थीहरुलाई सहयोग गरेको छ । एनआरएनए वेल्स राज्य समन्वय परिषद समेतको सहकार्यमा करिब दुइ दर्जन नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको  छ । सहयोगको याचनासहित संस्थाको सम्पर्कमा आउने विद्यार्थीहरुलाई घरघरमै पुगेर आधारभूत खाद्यसामग्री प्रदान गरिएको थियो । अफ्ठेरोमा पर्ने विद्यार्थीहरुको लागि वेल्सवासी नेपालीहरुले सहयोगस्वरुप खाद्यान्न उपलब्ध गराएका थिए।

यसअघि कोभिड १९ का कारण विभिन्न समस्यामा पर्ने वेल्सस्थित नेपालीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर समाजले स्थानीय अन्य संघसंस्था र सामाजिक अभियन्ताहरुसंग परामर्श लिएको थियो । सोहि छलफलको सुझावअनुसार समाजले कोभिड सहयोग अभियान सञ्चालन गरेको थियो ।

आवश्यक पर्नेहरुको सहयोगको लागि घरघरमै पुगेर सहयोग बाँड्ने कार्यमा समाजका अध्यक्ष घलेसंगै उपाध्यक्ष नीरलाल मोक्तान , सचिव अमरध्वज मल्ल, कोषाध्यक्ष विभुषणमान श्रेष्ठसहितका कार्यसमितिका पदाधिकारी र स्वयमसेवकहरु खटिएका थिए ।  यस विपदको घडीमा  राहतको लागि भनि नेपाली समाज वेल्सका सदस्यहरु मानध्वज गुरुङ, उदाना राई, चित्र राई, पूर्ण चन्द्र लिम्बु, मेम कुमारी मल्ल, श्याम गुरुङ, अमृत घले, नर थापा, बसन्ती तामांग, सोम सुनवार र  प्रकाश गुरुङहरुले  जिन्सी सहयोग गर्नु भएको थियो । सम्पूर्ण सहयोगदाता, स्थानीय संघसंस्था र समाजसेवी तथा स्वयमसेवकहरुप्रति वेल्स नेपाली समाजले आभार प्रकट गर्न चाहन्छ।

धन्यवाद  ।


Sunday, 27 October 2019

“दशैं र तिहार” कार्यक्रम र नेपाली समाज वेल्स यु.केको “१० औ बार्षिक उत्सव” भव्यताका साथ सम्पन्न !!




वेल्स - २६ अक्टोबर २०१९, शनिवार। नेपालीहरुको महान चाडहरु दशैं र तिहारको उपलक्ष्यमा नेपाली समाज वेल्स, युकेद्वारा आयोजित दशैँ-तिहार २०७६ शुभकामना आदानप्रदान कार्यक्रम भव्यरुपमा सम्पना भयो । बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।आफ्नो मातृभूमी नेपालबाट बिभिन्न परिबेशले परदेशिएर संयुक्त अधिराज्य अन्तर्गत वेल्सको राजधानी कार्डिफ तथा वरपर बसोबासरत नेपाली तथा नेपाली मूलका बेलायती नागरीकहरु बिचमा भातृत्व, सहयोग, सदभाव तथा सहकार्य बृध्दि गर्दै संगठित तथा संस्थागत रूपमा आगी बढ्ने उदेश्य राखी नेपाली समाज वेल्स यू. के. को २२ अगस्ट २००९ मा स्थापना भएको थियो । नेपाली समाज वेल्स स्थापना भएको १० वर्ष पुरा भएको अवसरमा दशैँ- तिहारको खुशियाली समय  पारेर दशैँ-तिहारको शुभकामना आदान प्रदानका साथ संस्थाको १० औ बार्षिकोत्सब कार्यक्रम संयुक्त रुपमा आयोजना गरिएको थियो ।

संस्थाका सचिब श्री अमर ध्वज मल्लले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई स्वागतका साथै भर्खरै मात्र गएको दशैं पर्बले हामी सबैमा खुशी र रौनक छोडेर गएको र आउदै गरेको तिहार पर्बले सबैमा शुख र लक्ष्मी माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा र विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम संचालन गर्नुभयो भने अध्यक्ष श्री अमृत घलेले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात गर्नु भएको थियो ।कार्यक्रममा नेपाली समाज वेल्सका संस्थापक अध्यक्ष श्री चित्र बहादुर राई प्रमुख आतिथि साथै नेपाली समाज वेल्सका निबर्तमान अध्यक्ष  तथा  गैर आबासिय नेपाली संघ बेलायतका उपाध्यक्ष  श्री राम चन्द्र पोखरेल, नेपाली समाज वेल्सका पूर्व अध्यक्षहरु श्री पूर्ण चन्द्र लिम्बु र श्री मति प्रसाद पुन विषेस आतिथिको रुपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष श्री अमृत घलेले सम्पूर्ण उपस्थित महानुभाबहरु प्रति महान चाडको अबसरमा शुभकामना सन्देश दिनुका साथै यसको महत्वको वारेमा प्रकाश पार्नु भयो।नेपाली समाज वेल्सको स्थापनाकाल २००९ देखि २०१८ सम्म कार्यकारी समितिमा बसी काम गर्नु हुने सम्पूर्ण पूर्व पदाधिकारी एबम सदस्यहरुलाई अध्यक्ष श्री अमृत घले र उपाध्यक्ष श्री निर लाल मोक्तानले खादा र ब्याज लगाएर समान गर्नु भयो भने संस्थापक अध्यक्ष श्री चित्र बहादुर राईले संस्थाको १० औ बार्षिकोत्सबको खुशियालीमा केक काट्नु भएको थियो ।कार्यक्रममा प्रमूख आतिथिका साथै सम्पूर्ण बिशेस आतिथिहरुले शुभकामना मन्तव्यका क्रममा संस्थाको १० औं बर्शिकोत्सबमा सहभागी हुन् पाउँदा खुशी ब्यक्त गर्दै संस्थाको उतरोत्तर प्रगति एबं  कार्यक्रम सफलताको कामना गर्दै शुभ दीपावलीको शुखद उपलक्ष्यमा शुख, शान्ति एबं सम्ब्रिद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो ।
।


कार्यक्रमको मनोरन्जनात्मक दोश्रो चरणमा विभिन्न साँस्कृतिक नाँचगान लिएर प्रस्तुत हुनुभएकी संस्थाकी सह-सचिब श्रीमती लक्ष्मी के. सिलाई कलाकारहरु  सुश्री खुशी देवकोटा, श्री प्रदिप सुबेदी, सुश्री रालु अव्लोनितिस, सुश्री अलिशा ओली, श्री उमेश थापा, सुश्री प्रियंका भण्डारी, श्री संजीव मैनाली र सुश्री दीपा न्यौपानेले जोडदार प्रस्तुति संगै साथ  दिनु भएको थियो । तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन चल्तिलाई कायम राख्ने र हामी आफैमा रमाईलो गर्ने उद्देश्यले श्री शालिकराम काफ्लेको नेतृत्वमा देउसी भैलोको रमझमले कार्यक्रम तिहारमय बनेको थियो। कार्यक्रमको अन्तमा सँस्थाका उपाध्यक्ष श्री निर लाल मोक्तानले कार्यक्रममा उपस्थित हुने सम्पूर्ण पाहुनाहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी महानुभावहरुलाई हार्दिक धन्यवादका साथ कृतज्ञता ज्ञापन गर्नु भयो ।




                                                                                                  फोटो: अमर ध्वज मल्ल र राजेश राई


धन्यवाद ।

नेपाली समाज वेल्स, युके

Sunday, 1 September 2019

चेलीहरुलाई २०७६ सालको तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न


  

३१ अगष्त २०१९ शनिवारका दिन नेपाली समाज वेल्सले चेलीबेटीहरुको तीज  पर्बको  अबसरमा  चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको थियो जसमा धेरै भन्दा धैरे चेलीबेटीहरु उपस्थित  भइ तिज कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर  रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ / शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म मनोरन्जनात्मक  बाताबरण तयार गर्ने उद्देस्यले आयोजना  गरिएको कार्यक्रममा  नेपाली दिदी-बहिनीहरुको राम्रो सहभागिता रहेको थियो । बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाटका साथै आफ्नोचाड मनाउन पाउँदा चेलीहरु हर्षले गद गद हुदै तीजको गीतमा दिल खोलेर  नाच्नु  भएको थियो ।

कार्यक्रममा नेपाली समाज वेल्सका अध्यक्ष श्री अमृत घले साथै NRNA राज्य समन्वय परिषद वेल्सका अध्यक्ष श्री राम चन्द्र पोखरेलले उपस्थित चेलिबेटीहरुलाई तिजको शुभकामना मन्त ब्यक्त गर्नुभएको थियो भने, समाजका उपाध्यक्ष श्री निर लाल मोक्तानले कार्यक्रम सम्पन गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरु बिशेष गरि श्री बलराम अधिकारी, श्री विभुषनमान श्रेष्ठ, श्री श्याम गुरुङ, श्री अमर ध्वज मल्ल,  श्री बल थापा साथै प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैलाई धन्यवाद दिदै कार्यक्रमलाई समापन गर्नु भएको थियो | कार्यक्रम संचालन समाजका सचिव श्री अमर ध्वज मल्लले गर्नु भएको थियो |

धन्यवाद ।





फोटो: बल थापा