Sunday, 25 April 2010

शोकमा वेल्स नेपाली समुदाय

यस संस्थाका कर्मठ सदस्य, ल्यानरमनि कार्डिफ निवासी भुतपूर्व गोर्खा सैनिक श्री होम बहादुर थापा को गत २३ अप्रिल २०१०, शुक्रवारको दिन असामयिक निधन भएकोमा समस्त वेल्स नेपाली समुदाय शोकमग्न भएको छ। यस दुखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक संन्तप्त परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं।


जरुरी जानकारी तथा सुचना
गत २४ अप्रिल २०१०, शनिवारको दिन बसेको संस्थाको आकस्मिक बैठकले श्री थापाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै २ मिनेट मौन धारण गर्नुका साथै वहाँको पार्थिव शरिरको अन्तयष्टिको लागि पहल गर्ने निर्णय गर्दै यस संस्था सँग आबद्ध सम्पुर्ण नेपाली परिवारहरुबाट सहयोग रकम संकलन गर्ने पनि निर्णय भएको जानकारी गराइन्छ। सहयोग रकम संकलनको संयोजन श्री आइत बहादुर गुरुङ (मोबाइल नं. ०७९१९२६१३४६) ले गरिरहनु भएकोले सम्पुर्ण सदस्य महानुभावहरुलाई आ-आफ्नो सहयोग रकम यथासक्य चाँडो उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

स्व. होम बहादुर थापाको अन्तिम संस्कार आगामी ६ मई २०१०, बिहिवार बिहानको १०:०० बजे निम्न स्थानमा हुने भएकोले सम्पुर्ण कार्डिफ निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

स्थान:

Thronhill Cemetery & Crematorium
Thronhill Road
Llanishen
Cardiff
CF14 9UA


Tuesday, 20 April 2010

हाम्रो नयाँ वर्ष २०६७ कार्यक्रम

वेल्स नेपाली समुदाय, कार्डिफले आफ्नो स्थापना पछिको पहिलो नयाँ वर्ष कार्यक्रम गत १७ अप्रिल २०१० का दिन भब्यताका साथ मनायो। स्थानीय ट्रिमोर्फा पार्कको रग्बि क्लबमा सम्पन्न भएको यस कार्यक्रममा नेपाली खानपानका साथै बिभिन्न मनोरंजनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो। हाम्रो संस्थाले आफ्नो स्थापनाको छोटो अवधिमै बिभिन्न कार्यक्रहरु सम्पन्न गरेको छ।
जहाँ जन्म्यौं त्यहाँको संस्कृतिलाई आत्मासाथ गर्दै जगेर्ना गर्नुपर्छ भन्ने भावनाले कार्यक्रमको शुरु नेपाली तथा वेल्सको राष्ट्रगान बाट गरिएको थियो। कार्डिफ र यस क्षेत्र वरपर रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वेल्सका प्रथम मंत्री तथा लेबर पार्टीका तर्फबाट वेलायती संसदका निवर्तमान सांसद एवं पूर्व क्याबिनेट मंत्री एलान माइकल, लिबरल डेमोक्र्याटकी निवर्तमान सांसद जेनी विल्लट, लिबरल डेमोक्र्याटकी वेल्स एसेम्बली सदस्य जेनी रेन्डरसन, लेबर पार्टीका काउन्सिलरहरु हिथर जोयस, डेरेक मोरगन तथा ज्याक्की पारी लगायतका वेलायती पाहुनाहरुको बिच नेपाली राजदुतावासका कन्सुलर अफिसर खिमानन्द भुसाल समेतको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
सानी नानी प्रान्जील र प्राजन पोखरेलको नृत्यले सबैको मन तानेको थियो भने डाटफोर्ड केन्ट बाट आउनुभएकी कलाकार सुनिता थापाको माइतिघर गीतको नृत्यले सहभागीहरुलाई तताइरहेको थियो। अझ स्थानीय कलाकारहरु संजिता लिम्बु र रोशा लिम्बुको नृत्यले सबैलाई उफारिरहेको देखिन्थ्यो। स्थानीय गायकहरु रामचन्द्र पोखरेल र रोशन भट्टराईले नेपाली संगितमा आफ्नो गित प्रस्तुत गर्दा सबै झुमेका देखिन्थे जसमा अझ रौनकता थप्नेकाम गर्नुभएको थियो केन्टदेखि आउनुभएका कलाकार दिपक थापाले। लन्डनदेखि आएका सारंगी बजाउने टोलीलाई हाम्रै अध्यक्ष चित्र बहादुर राईले मादल बजाएर रेशम फिरिरी अनि सिमसिमे पानीमा बोलको धुनमा साथ दिइरहनुभएको थियो। कार्यक्रमको अन्ततिर खोलिएको राफल चिठ्ठाले पनि एकछिन सबैलाई मनोरंजन दिएको थियो।
यस कार्यक्रमको शुरुमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो । यसै अवसरमा नेपाली नयाँ वर्षको शुभकामना दिदै पूर्व क्याबिनेट मंत्री एलान माइकलले नेपाली समुदाय वेल्सको लागि महत्वपुर्ण छ भन्दै यो समाजको प्रगतिको कामना गर्नुभयो। कार्यक्रममा अर्की निवर्तमान सांसद जेनी विल्लटले वेल्समा रहेका नेपालीहरुको कार्यक्रममा पहिलो पटक सहभागि हुन पाएकोमा खुशि व्यक्त गर्दै सम्पुर्ण नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिइन। नेपाली दुतावासका सहचारी खिमानन्द भुसालले पनि वेल्समा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष चित्र बहादुर राईले बिक्रम संवतको शुरुवात कसरी भयो भन्ने बारे रोचक ढंगले प्रस्तुत गर्दै कार्यक्रमको सफलताको लागि हातमा हात मिलाई सहयोग गर्ने व्यक्ति संध संस्था एवं कार्यक्रमका सहभागिहरुलाई धन्यवाद दिनुभयो। सहभागिहरु सबैजनाले आ-आफ्नो तरिकाले समुहमा नृत्यगर्दै कार्यक्रमको समापन गरिएको थियो।

(कार्यक्रमका अन्य फोटोहरु हेर्न तलको फोटोमा थिच्नुहोस ।)

Wednesday, 14 April 2010

नयाँ वर्ष २०६७ को हार्दिक शुभकामना



वेल्स निवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा
नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना।
यस पावन अवसरमा सम्पुर्ण नेपाली
परिवारको सुख शान्ति एवं
समृद्धिको कामना
गर्दछौं।




Friday, 2 April 2010

स्थानीय काउन्सिलरहरु सँग भेटधाट

वेल्स नेपाली समुदाय, कार्डिफले बेलायतभित्र पनि एउटा सानो नेपालको आभास दिएको मात्र हैन बेलायतको स्थानीयतालाई आत्मसात गरेर आफ्नोपन र स्थानीयता बिचमा सामन्जस्य ल्याउने कार्यमा समेत लागिपरेको छ। भरखरै स्थापित हाम्रो संस्था आफ्नो स्थापनाकालदेखि नै स्थानीय सरकार, संसद, काउन्सिल एवं समुदायसँग सम्बन्ध बिस्तारमा लागिरहेको छ। यसैको निरन्तरताको रुपमा गत ३१ मार्च २०१०, बुधबार स्थानीय ल्यानरमनिका काउन्सिलरहरु सँग हाम्रो समुदायको एक प्रतिनिधि मन्डलले भेटधाट तथा छलफल गर्यो। यस संस्थाका अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा गएको उक्त प्रतिनिधि मन्डलले ल्यानरमनिका काउन्सिलरहरु Derrick Morgan, Heather Joyce तथा Jackie Parry सँग भेट गरेको थियो। हाम्रो प्रतिनिधि मन्डलमा अध्यक्ष राईको अलावा उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फे, सदस्यहरु हुम बहादुर थापा, कमल केशर चेम्जोङ्ग, उर्मिला श्रेष्ठ, बिभुषणमान श्रेष्ठ तथा शिवजी श्रेष्ठ हुनुहुन्थ्यो।

उक्त भेटधाटमा हाम्रो समुदायको तर्फबाट समुदायको उद्देश्य, कार्डिफ तथा स्थानीय ल्यानरमनिमा नेपाली हरुको उपस्थिति, स्थानीय समुदायसँगको एकआपसमा सहसम्बन्ध, स्थानीय गतिविधिमा नेपाली समुदायले खेल्नुपर्ने भूमिका, स्थानीय नेपाली बिधार्थीहरु अध्यनरत बिध्यालयहरुमा नेपाली साँस्कृतिक पर्वहरुको बारेमा जानकारीमुलक कार्यक्रम आयोजना समावेशको प्रयास गर्ने लगायतका बिषयमा छलफल भएको थियो। सो सम्बन्धमा स्थानीय बिधालयका गभर्नर समेत रहेकि काउन्सिलर Jackie Parry ले हाम्रो प्रस्तावको स्वागत गर्दै त्यसको लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन। सो अवसरमा नेपालको सुन्दरता र गोर्खालीको विरताको बर्णन गर्दै काउन्सिलरहरुले नेपालीहरु सँग यसरी भेटेर अन्तर्क्रिया गर्न पाउँदा खुशि लागेको बताउँदै आगामी दिनहरुमा नेपाली समुदायालाई काउन्सिल तथा स्थानीय निकाय एवं समुदायद्वारा आयोजना गरिने कार्यक्रमहरुमा सहभागि गराइने, तथा नेपाली समुदायको कार्यक्रमहरुमा पनि आफुहरुलाई सहभागि गराउन अनुरोध गरे।

भेटधाटको अन्तमा काउन्सिलरहरुले आगामी २१ अप्रिल २०१० मा हुनलागेको स्थानीय समुदायद्वारा आयोजित कार्यक्रममा नेपालीहरुलाई आमन्त्रित गरे भने नेपाली समुदायको तर्फबाट पनि आगामि १७ अप्रिल २०१०, शनिबार कार्डिफमा हुन गइरहेको नेपाली नयाँ वर्ष कार्यक्रममा काउन्सिलर- हरुलाई निमन्त्रण गरियो।

Monday, 8 March 2010

नव वर्ष २०६७ को कार्यक्रम सम्बन्धि जानकारी

-------------------------------------------------------------------------------------------------------------------------------------------------------
**यस अघिको ब्लगमा यो कार्यक्रम १३ अप्रिल २०१० मा गर्ने भनिएपनि बिभिन्न प्राविधिक कठिनाईहरुका कारण केहि दिन पर सार्नुपरेको कुरा अवगत गराउनुका साथै यसबाट पर्नगएको असुविधाको लागि क्षमा चाहन्छौं। **
-------------------------------------------------------------------------------------------------------------------------------------------------------

बिभिन्न साँस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमहरुको साथ नव वर्ष २०६७ लाई स्वागत गर्ने अभिप्रायले आउँदो १७ अप्रिल २०१० (०४ बैशाख २०६७) शनिवारको दिन वेल्स नेपाली समुदाय, कार्डिफले "नयाँ वर्ष २०६७" कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ। उक्त कार्यक्रममा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीको उपस्थिति एवं सहभागिताको अपेक्षा गर्दछौं। बिगतका कार्यक्रमहरु झैं यो कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभाव अपरिहार्य रहने छ। यो बिरानो मुलुकमा पनि हातमालो गर्दै आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन हात बढाऔं।

कार्यक्रम सम्बन्धि जानकारी यसप्रकार छ।

मिति : १७ अप्रिल २०१० (०४ बैशाख २०६७), शनिवार
समय : १५:०० बजे देखि २२:०० बजे सम्म
स्थान : St. Alban's Rugby Club
Tremorfa Park
Tremorfa
Cardiff
CF24 2RN
(कार्यक्रम स्थलको नक्सा ठुलो पारि हेर्न नक्सामै क्लिक गर्नुहोला)


बिगतका कार्यक्रमहरु जस्तै यसपालि पनि कार्यक्रम स्थलमा प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ। टिकट अग्रिम खुला गरिएको हुनाले आफ्नो नजिक पर्ने कार्यसमिति सदस्यहरु मार्फत तोकिएको शुल्क तिरि टिकट लिन सकिनेछ।

टिकट दर यसप्रकार छ।
प्रतिव्यक्ति: १० पाउन्ड (१६ वर्ष वा सो भन्दा माथि)
५ पाउन्ड (१० वर्ष वा सो भन्दा माथि देखि १६ वर्ष मुनि सम्म)

नोट: १० वर्ष मुनीका वालवालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

अन्य जानकारीको लागि यस संस्थाका कुनैपनि कार्यसमिति पदाधिकारीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

Sunday, 7 March 2010

वेलायती सांसद र वेल्स एसेम्बलि सदस्यसँग भेटघाट

वेल्स नेपाली समुदाय, कार्डिफका सदस्यहरुको हित तथा स्थानीय कार्यक्रमहरुमा स्थानीय समुदायसँग सहकार्य जस्ता कुराहरुमा सामन्जस्य गर्ने उदेश्यले ५ मार्च २०१०, शुक्रवारको दिन हाम्रो संस्थाको एक प्रतिनिधि मण्डलले कार्डिफ सेन्ट्रललाई प्रतिनिधित्व गर्ने वेलायती संसद सदस्य "जेनि विल्लट" तथा वेल्स एसेम्बलि सदस्य "जेनि रेन्डरसन" सँग भेटघाट गर्यो। संस्थाका अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फे, सह-कोषाध्यक्ष श्रीमती संगिता गुरुङ, सदस्य शिवजी श्रेष्ठ र युवा बिधार्थीको प्रतिनिधित्व गर्दै सुश्री सिमरन तुम्बाहाम्फे संलग्न हुनुहुन्थ्यो। गत वर्ष अगस्ट महिनामा स्थापना गरिएको हाम्रो समुदायले कार्डिफ एवं वरपर बसोबासरत नेपाली तथा नेपाली मूलका वेलायती नागरिकहरुलाई सामाजिक रुपमा संगठित गरि बिभिन्न कार्यक्रमहरु संचालन गरिसकेको छ। स्थानीय निकाय एवं समुदायसँग सहकार्य गर्ने उदेश्यले यस अघि पनि स्थानीय काउन्सिलर हुँदै सांसद एवं एसेम्बलि सदस्य सँग भेटघाट गरिएको हो।
उक्त भेटको अवसरमा हाम्रो प्रतिनिधि मण्डलले नेपालीहरुको वेलायतको स्थिति, वेल्समा नेपालीहरुको आगमन, संस्थाको उदेश्य, स्थानीयता सँगको सहकार्य, पूर्व गोर्खा सैनिकको समस्या, नेपाली विधार्थीहरुले भोग्नुपरेको बर्तमान समस्या, नेपाली कला, संस्कृति सँगै स्थानीय निकायले संचालन गर्ने कुनैपनि सामाजिक, साँस्कृतिक कार्यक्रममा नेपाली समुदायको सहभागिता, वेल्स तथा नेपाली बिधार्थीहरुबिच साँस्कृतिक आदानप्रदान लगायतका बिषयहरुमा छलफल भएको थियो। सो भेटघाटमा सांसद तथा एसेम्बलि सदस्यहरुले अभिरुचिपूर्वक नेपालीहरुको वेल्समा उपस्थिति, संख्यात्मक स्थिति, नेपाली संस्कृति, नेपाली बालबालिकाहरुको साथै नेपाली राष्ट्रिय दिवसको बारेमा समेत चासो राखेका थिए। सो अवसरमा सांस्द एसेम्बलि सदस्यहरुले नेपाली राष्ट्रिय दिवसमा आफुहरुलाई पनि सहभागि गराउन र वेल्सको स्थानीय गतिविधिमा नेपालीहरुलाई सहभागि हुन अनुरोध पनि गरे।
सहकार्य, साँस्कृतिक सहसम्बन्ध र सदभावको चिनारी दिने उदेश्यले हाम्रा प्रतिनिधिहरु कोहि नेपाली दौरासुरुवाल, कोहि नेपाली महिला पोशाक, कोहि स्थानीय वेल्सको चिन्ह झल्किने पोशाकमा गएका थिए। यस्तो कार्य र नेपाली प्रतिनिधिहरुबाट आफुहरु प्रभावित भएको बताउँदै सांसद विल्लटले यसलाई सकारात्मक रुपमा लिएको भन्दै सहकार्यको लागि आफुहरु उत्सुक रहेको समेत उल्लेख गरिन।
भेटघाटको क्रममा वेल्स नेपाली समुदाय, कार्डिफको तर्फबाट अध्यक्ष चित्र बहादुर राईले वेल्स एसेम्बलि सदस्यलाई कलात्मक नेपाली आँखिझ्याल तथा विश्वप्रसिद्ध परम्परागत नेपाली खुकुरीको मिनियचर पनि प्रदान गर्नुभएको थियो।

Tuesday, 2 March 2010

हार्दिक समवेदना

ल्यानरमनी, कार्डिफ निवासी यस संस्थाका सदस्य श्री बिभूषणमान श्रेष्ठ का पुजनीय पिता श्री सूर्यमान श्रेष्ठ को २३ फेब्रुवरी २०१० का दिन नेपालस्थित आफ्नै थलोमा ७३ वर्षको उमेरमा असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिका लागि ईश्वरसँग प्रार्थना गर्दै यस दु:खद धडिमा शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौं।
- वेल्स नेपाली समुदाय, कार्डिफ


Thursday, 11 February 2010

राजदुत डा. चालिसेको स्वागत कार्यक्रममा हाम्रो सहभागिता

गत आईतबार ७ फेब्रुवरि २०१० को दिन एन. आर. एन. युके ले वेलायतका लागि नवनियुक्त नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेको सम्मानमा एक स्वगत कार्यक्रमको आयोजना गरेको थियो। ईलिङ, लण्डन मा आयोजित ऊक्त कार्ययक्रम एन. आर. एनका श्री सुर्य गुरुङलको अध्यक्षतामा सम्पन्न भएको थियो। बेलायतबासी नेपालीहरुको बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु बिच चिनजान गराऊने उदेश्य सहित आयोजना गरिएको कार्यक्रममा वेल्सलाई प्रतिनिधित्व गर्दै यस संस्थाका अध्यक्ष श्री चित्र बहादुर राई, वेल्स गोर्खा कम्युनिटि, कुम्बरानका भु. पु. अध्यक्ष श्री बद्रि लिम्बु र एन. आर. एनका सल्लाहकार श्री शिवजी श्रेष्ठले भाग लिनुभएको थियो।
यस अवसरमा राजदूत डा. चालिसेले विदेशमा बस्ने हरेक नेपालीले नेपालको वर्तमान आर्थिक अवस्थामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा जोड दिनुका साथै नेपाली कला र संस्कृतिलाई विदेशमा पनि निरन्तरता दिनु पर्ने कुरामा ध्यान आकृष्ट पार्नु भएको थियो। उहाँले विदेशी लगानिका साथसाथै नेपालीले विदेशमा सिकेको शिपलाई नेपालको विकाशमा प्रयोग गर्नुपर्ने कुरामा पनि जोड दिनुभएको थियो। अब आऊने दिनहरुमा गैरआवासीय नेपालीहरुसँग नजिकको सम्बन्ध राख्दै भु. पु. गोर्खाहरुको समश्यालाई समेत नजिक बाट हेर्ने बिचार प्रकट गर्नुको साथै भविश्यमा वेल्समा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सँग पनि भेटघाटको लागि आउने विचार व्यक्त गर्नु भयो।
राजदूतका विचारहरु हेर्न तल थिच्नुहोस।




Tuesday, 29 December 2009

भावपुर्ण श्रद्धाञ्जली


ल्यानरमनी, कार्डिफ निवासी यस संस्थाका सदस्य श्री पुष्कर लाल तिमिला का पुजनीय पिता श्री पशुपति लाल तिमिला को २४ डिसेम्बर २००९ का दिन ७१ वर्षको उमेरमा भक्तपुर, नेपाल स्थित निवासमा असामयिक निधन भएकोमा दिवंगत आत्माको चिर शान्तिका लागि ईश्वरसँग प्रार्थना गर्दछौं। यस दु:खद धडिमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
- वेल्स नेपाली समुदाय, कार्डिफ