Thursday, 20 May 2010

कार्डिफ नेपाली युवा फुटवल टोलीलाई सफलता

गत १६ मे २०१०, आइतवारको दिन ब्ल्याक भोलुन्टरी सेक्टर नेटवर्क वेल्स (BVSNW) ले आयोजना गरेको 5 x side फुटवल प्रतियोगितामा वेल्स नेपाली समुदाय, कार्डिफको युवा फुटवल टोलीले आफ्नो कुशल खेल प्रस्तुत गर्दै दोश्रो स्थान हात पार्न सफल भएको छ। "नेपाली फुटवल टिम, कार्डिफ" को नामबाट सहभागि हाम्रा युवा नेपाली खेलाडिहरुले आफ्नो दक्षता प्रस्तुत गर्दै उक्त स्थान हाँसिल गरेका हुन। स्थानीय "गल फुटबल क्लब, क्यानटन" मा आयोजना गरिएको उक्त प्रतियोगितामा कार्डिफ वरपरका १६ वटा बिभिन्न टिमले भाग लिएका थिए। समुह 'क' मा रहेको हाम्रो टोलीले अन्य ३ वटा टिमलाई पछि पार्दै ६ अंकका साथ समिफाइनलमा प्रवेश गरेको थियो। 'ह्याम्याड्रयाड' नामको टिमसँग सेमिफाइनलमा भिड्दै १-१ गोलको बराबरी गरेपछि पेनाल्टि किकको माध्यमबाट फाइनलमा प्रवेश गरेको हाम्रो टोली फाइनलमा भने 'डार्क डिस्ट्रवायर्स' नामको टिमसँग ०-३ गोलको अन्तरले पराजित भई दोश्रो स्थानमै सिमित रहेको थियो। यस्तो प्रतियोगितामा अन्य १५ टोली भन्दा अब्बल खेल प्रदर्शन गर्दै दोश्रो स्थान हाँसिल गर्न सफल भएकोमा यो संस्था आफ्ना युवा खेलाडिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा अझ बढि सफलता मिलोस भन्ने कामना गर्दछ।

यस संस्थाका सदस्य रामचन्द्र पोखरेलको संयोजनमा गएको कार्डिफ नेपाली युवा फुटवल टोलीको तर्फबाट यहाँका नेपाली युवा खेलाडिहरु धनेन राई, समिर लिम्बु, संदिप लिम्बु, सरोज लिम्बु, सजिन लिम्बु, रमेश लिम्बु, हिस्शे लिम्बु र संगम लिम्बुले खेलेका थिए। खेलमा हाम्रा खेलाडिहरुलाई हौस्याउनको निम्ति वे.ने.स. का पदाधिकारीहरुका साथै अन्य नेपालीहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तमा BVSNW को तर्फबाट खेलाडिहरुलाई पुरस्कार तथा पदक बितरण गरिएको थियो।

खेलका अन्य दृश्यहरु हेर्न तलको फोटोमा थिच्नुहोस्।

Saturday, 15 May 2010

सहकार्यको लागि BVSNW सँग छलफल

वेल्स नेपाली समुदाय, कार्डिफले आफ्नो स्थापना देखिनै बिभिन्न सामाजिक संघ संस्थाहरु सँग भाईचारा अभिबृद्धि गर्दै सहकार्यकोलागि हात बढाइरहेको छ। यसैको निरन्तरता स्वरुप गत १३ मे २०१० को दिन हाम्रो संस्थाका एक प्रतिनिधि मण्डलले Black Voluntary Sector Network Wales (BVSNW) सँग सम्पर्क गरि छलफल गरेको छ। वेल्स एसेम्बली सरकारको आर्थिक सहयोगमा वेल्समा रहेका जातीय अल्पसंख्यकहरु (ethnic minorities)को छाता संगठनको रुपमा काम गरिरहेको उक्त संस्थासँग आबद्ध रहि कार्य गर्ने उद्देश्यले अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा संस्थाका सदस्य रामचन्द्र पोखरेल सहितको टोलीले BVSNW का कार्यक्रम निर्देशक माईकल फ्लानसँग भेट गरि छलफल गर्यो। उक्त अवसरमा आपसी हितका बिषयमा कुरा हुनुका साथै एकआपसमा सहकार्य गर्दै कसरी अघि बढ्ने भन्ने बिषयमा ब्यापक छलफल भयो। कार्यक्रम निर्दैशक माईकलले हाम्रो संस्थासँग सहकार्य गरि अघि बढ्नको लागि तयार रहेको जानकारी गराउँदै BVSNW को आगामी कार्यक्रमहरुको बारेमा बताउनु भएको थियो। वेल्स नेपाली समुदाय, कार्डिफका अध्यक्षले पनि BVSNW को सबै कार्यक्रमहरुमा हातेमालो गर्दै सक्दो सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस भेटघाट र छलफल कार्यक्रमको संयोजन रामचन्द्र पोखरेलले गर्नुभएको थियो।
भेटघाटको अन्तमा निर्देशक माईकलले १६ मे २०१०, आइतवारको दिन BVSNW ले आयोजना गर्न लागेको 5 x side युवा फुटबल खेलको लागि नेपालीहरुको टिमको पनि सहभागिताको लागि अनुरोध गर्नुभयो। हाम्रो संथाको तर्फबाट युवा फुटबल टोली बनाई सहभागि गराउने आश्वासन दिएर त्यसको लागि आवश्यक पहल गर्ने सहमति भएको थियो।

Thursday, 6 May 2010

स्व. होम बहादुर थापाको अन्तिम संस्कार सम्पन्न

गत २३ अप्रिल २०१० का दिन स्वर्गवास हुनुभएका यस संस्थाका सदस्य होम बहादुर थापाको ६ मे २०१०, बिहिबारको दिन स्थानीय थ्रोनहिल सिमेटरि तथा क्रिमेटोरियममा विशेष समारोहका बिच अन्तिम संस्कार सम्पन्न भयो। उक्त अवसरमा वहाँको परिवारका सदस्यहरु एवं वेल्स नेपाली समुदाय, कार्डिफका सदस्यहरुका अलावा कुम्बरान, ब्रेकन, अल्ट्रासोड,स्विनडन, बर्मिङघम, क्यामबरलि, लन्डन लगायतका स्थानहरुबाट पाल्नुभएका वेल्स गोर्खा कम्युनिटि, मगर संघ युके, पाल्पाली भञ्ज्याङ युके आदी संघ संस्थाहरुका सदस्यहरु सहित करिब १६० नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय ल्यानरम्निका काउन्सिलरहरु डेरिक मोरगन र हिथर जोयस का साथै ल्यानरम्नि स्कुलकी शिक्षिका मिस एलनको पनि उपस्थिति थियो।
नेपाली ब्राम्हणबाट शंखध्वनिका साथ पुजापाठ गराई हिन्दु परम्परा अनुसार सम्पन्न गरिएको अन्तिम संस्कारको कार्यक्रममा मिलिटरी ब्यगपाइपर बजाएर सम्मान दिइएको थियो। स्व. थापाको पार्थिव शरिरमा वहाँका छोरा सन्तोष थापाले दागबत्ति दिएका थिए। उक्त अवसरमा मगर संघ, बेलायतका अध्यक्ष कुल बहादुर थापाले स्व. थापाको जिवनीका बारे उपस्थित सबैलाई जानकारी दिएका थिए। मृतआत्माको चिर शान्तिको लागि २ मिनेट मौनधारण पनि गरिएको थियो। स्व. थापाका परिवारमा श्रीमती, ३ छोरी र १ छोरा छन। कार्यक्रम पश्चात ल्यानरम्नि स्थित रग्बी क्लबको हलमा सम्पुर्ण उपस्थित महानुभावहरुको लागि जलपान कार्यक्रमको आयोजना गरिएको थियो।

वेल्स नेपाली समुदाय, कार्डिफ स्व. होम बहादुर थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछ।

Monday, 3 May 2010

नयाँ वर्ष २०६७ कार्यक्रमका केहि मनोरंजनात्मक क्षणहरु

नयाँ वर्ष २०६७ कार्यक्रममा नेपाली खाना, नेपाली पहिरन सँगै गितसंगितले पनि भरिभराउ थियो। यसै कार्यक्रममा पस्किएका केहि मनोरंजनात्मक क्षणहरुको भिडियोहरु हामिलाई भर्खरै प्राप्त भएकोले यहाँ राखिएको छ।
कार्यक्रममा उपस्थित अन्य महानुभावहरुले खिच्नुभएको भिडियोक्लिपहरु पनि यहाँ राख्नको लागि उपयुक्त लागे हामीलाई जतिसक्दो चाँडो उपलब्ध गराईदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं।

रेशम फिरिरी गित प्रस्तुत गर्दै रामचन्द्र पोखरेल




माइतिघर गितमा नृत्य प्रस्तुत गर्दै सुनिता थापा



मखमली चोली चाँहिदैन गितमा नृत्य प्रस्तुत गर्दै प्रान्जिल पोखरेल




आमाले मायागरि किनिदिएको गितमा नृत्य प्रस्तुत गर्दै सानी नानी रस्मिता गुरुङ




चियाबारीमा हो चियाबारीमा गितमा नृत्य प्रस्तुत गर्दै प्रान्जिल र प्राजन पोखरेल




जोमसोमै बजारमा गित प्रस्तुत गर्दै रोशन भट्टराई

Sunday, 25 April 2010

शोकमा वेल्स नेपाली समुदाय

यस संस्थाका कर्मठ सदस्य, ल्यानरमनि कार्डिफ निवासी भुतपूर्व गोर्खा सैनिक श्री होम बहादुर थापा को गत २३ अप्रिल २०१०, शुक्रवारको दिन असामयिक निधन भएकोमा समस्त वेल्स नेपाली समुदाय शोकमग्न भएको छ। यस दुखद घडिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक संन्तप्त परिवारमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं।


जरुरी जानकारी तथा सुचना
गत २४ अप्रिल २०१०, शनिवारको दिन बसेको संस्थाको आकस्मिक बैठकले श्री थापाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै २ मिनेट मौन धारण गर्नुका साथै वहाँको पार्थिव शरिरको अन्तयष्टिको लागि पहल गर्ने निर्णय गर्दै यस संस्था सँग आबद्ध सम्पुर्ण नेपाली परिवारहरुबाट सहयोग रकम संकलन गर्ने पनि निर्णय भएको जानकारी गराइन्छ। सहयोग रकम संकलनको संयोजन श्री आइत बहादुर गुरुङ (मोबाइल नं. ०७९१९२६१३४६) ले गरिरहनु भएकोले सम्पुर्ण सदस्य महानुभावहरुलाई आ-आफ्नो सहयोग रकम यथासक्य चाँडो उपलब्ध गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

स्व. होम बहादुर थापाको अन्तिम संस्कार आगामी ६ मई २०१०, बिहिवार बिहानको १०:०० बजे निम्न स्थानमा हुने भएकोले सम्पुर्ण कार्डिफ निवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धा सुमन अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

स्थान:

Thronhill Cemetery & Crematorium
Thronhill Road
Llanishen
Cardiff
CF14 9UA


Tuesday, 20 April 2010

हाम्रो नयाँ वर्ष २०६७ कार्यक्रम

वेल्स नेपाली समुदाय, कार्डिफले आफ्नो स्थापना पछिको पहिलो नयाँ वर्ष कार्यक्रम गत १७ अप्रिल २०१० का दिन भब्यताका साथ मनायो। स्थानीय ट्रिमोर्फा पार्कको रग्बि क्लबमा सम्पन्न भएको यस कार्यक्रममा नेपाली खानपानका साथै बिभिन्न मनोरंजनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो। हाम्रो संस्थाले आफ्नो स्थापनाको छोटो अवधिमै बिभिन्न कार्यक्रहरु सम्पन्न गरेको छ।
जहाँ जन्म्यौं त्यहाँको संस्कृतिलाई आत्मासाथ गर्दै जगेर्ना गर्नुपर्छ भन्ने भावनाले कार्यक्रमको शुरु नेपाली तथा वेल्सको राष्ट्रगान बाट गरिएको थियो। कार्डिफ र यस क्षेत्र वरपर रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा वेल्सका प्रथम मंत्री तथा लेबर पार्टीका तर्फबाट वेलायती संसदका निवर्तमान सांसद एवं पूर्व क्याबिनेट मंत्री एलान माइकल, लिबरल डेमोक्र्याटकी निवर्तमान सांसद जेनी विल्लट, लिबरल डेमोक्र्याटकी वेल्स एसेम्बली सदस्य जेनी रेन्डरसन, लेबर पार्टीका काउन्सिलरहरु हिथर जोयस, डेरेक मोरगन तथा ज्याक्की पारी लगायतका वेलायती पाहुनाहरुको बिच नेपाली राजदुतावासका कन्सुलर अफिसर खिमानन्द भुसाल समेतको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
सानी नानी प्रान्जील र प्राजन पोखरेलको नृत्यले सबैको मन तानेको थियो भने डाटफोर्ड केन्ट बाट आउनुभएकी कलाकार सुनिता थापाको माइतिघर गीतको नृत्यले सहभागीहरुलाई तताइरहेको थियो। अझ स्थानीय कलाकारहरु संजिता लिम्बु र रोशा लिम्बुको नृत्यले सबैलाई उफारिरहेको देखिन्थ्यो। स्थानीय गायकहरु रामचन्द्र पोखरेल र रोशन भट्टराईले नेपाली संगितमा आफ्नो गित प्रस्तुत गर्दा सबै झुमेका देखिन्थे जसमा अझ रौनकता थप्नेकाम गर्नुभएको थियो केन्टदेखि आउनुभएका कलाकार दिपक थापाले। लन्डनदेखि आएका सारंगी बजाउने टोलीलाई हाम्रै अध्यक्ष चित्र बहादुर राईले मादल बजाएर रेशम फिरिरी अनि सिमसिमे पानीमा बोलको धुनमा साथ दिइरहनुभएको थियो। कार्यक्रमको अन्ततिर खोलिएको राफल चिठ्ठाले पनि एकछिन सबैलाई मनोरंजन दिएको थियो।
यस कार्यक्रमको शुरुमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो । यसै अवसरमा नेपाली नयाँ वर्षको शुभकामना दिदै पूर्व क्याबिनेट मंत्री एलान माइकलले नेपाली समुदाय वेल्सको लागि महत्वपुर्ण छ भन्दै यो समाजको प्रगतिको कामना गर्नुभयो। कार्यक्रममा अर्की निवर्तमान सांसद जेनी विल्लटले वेल्समा रहेका नेपालीहरुको कार्यक्रममा पहिलो पटक सहभागि हुन पाएकोमा खुशि व्यक्त गर्दै सम्पुर्ण नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिइन। नेपाली दुतावासका सहचारी खिमानन्द भुसालले पनि वेल्समा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष चित्र बहादुर राईले बिक्रम संवतको शुरुवात कसरी भयो भन्ने बारे रोचक ढंगले प्रस्तुत गर्दै कार्यक्रमको सफलताको लागि हातमा हात मिलाई सहयोग गर्ने व्यक्ति संध संस्था एवं कार्यक्रमका सहभागिहरुलाई धन्यवाद दिनुभयो। सहभागिहरु सबैजनाले आ-आफ्नो तरिकाले समुहमा नृत्यगर्दै कार्यक्रमको समापन गरिएको थियो।

(कार्यक्रमका अन्य फोटोहरु हेर्न तलको फोटोमा थिच्नुहोस ।)

Wednesday, 14 April 2010

नयाँ वर्ष २०६७ को हार्दिक शुभकामना



वेल्स निवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा
नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना।
यस पावन अवसरमा सम्पुर्ण नेपाली
परिवारको सुख शान्ति एवं
समृद्धिको कामना
गर्दछौं।




Friday, 2 April 2010

स्थानीय काउन्सिलरहरु सँग भेटधाट

वेल्स नेपाली समुदाय, कार्डिफले बेलायतभित्र पनि एउटा सानो नेपालको आभास दिएको मात्र हैन बेलायतको स्थानीयतालाई आत्मसात गरेर आफ्नोपन र स्थानीयता बिचमा सामन्जस्य ल्याउने कार्यमा समेत लागिपरेको छ। भरखरै स्थापित हाम्रो संस्था आफ्नो स्थापनाकालदेखि नै स्थानीय सरकार, संसद, काउन्सिल एवं समुदायसँग सम्बन्ध बिस्तारमा लागिरहेको छ। यसैको निरन्तरताको रुपमा गत ३१ मार्च २०१०, बुधबार स्थानीय ल्यानरमनिका काउन्सिलरहरु सँग हाम्रो समुदायको एक प्रतिनिधि मन्डलले भेटधाट तथा छलफल गर्यो। यस संस्थाका अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा गएको उक्त प्रतिनिधि मन्डलले ल्यानरमनिका काउन्सिलरहरु Derrick Morgan, Heather Joyce तथा Jackie Parry सँग भेट गरेको थियो। हाम्रो प्रतिनिधि मन्डलमा अध्यक्ष राईको अलावा उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फे, सदस्यहरु हुम बहादुर थापा, कमल केशर चेम्जोङ्ग, उर्मिला श्रेष्ठ, बिभुषणमान श्रेष्ठ तथा शिवजी श्रेष्ठ हुनुहुन्थ्यो।

उक्त भेटधाटमा हाम्रो समुदायको तर्फबाट समुदायको उद्देश्य, कार्डिफ तथा स्थानीय ल्यानरमनिमा नेपाली हरुको उपस्थिति, स्थानीय समुदायसँगको एकआपसमा सहसम्बन्ध, स्थानीय गतिविधिमा नेपाली समुदायले खेल्नुपर्ने भूमिका, स्थानीय नेपाली बिधार्थीहरु अध्यनरत बिध्यालयहरुमा नेपाली साँस्कृतिक पर्वहरुको बारेमा जानकारीमुलक कार्यक्रम आयोजना समावेशको प्रयास गर्ने लगायतका बिषयमा छलफल भएको थियो। सो सम्बन्धमा स्थानीय बिधालयका गभर्नर समेत रहेकि काउन्सिलर Jackie Parry ले हाम्रो प्रस्तावको स्वागत गर्दै त्यसको लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन। सो अवसरमा नेपालको सुन्दरता र गोर्खालीको विरताको बर्णन गर्दै काउन्सिलरहरुले नेपालीहरु सँग यसरी भेटेर अन्तर्क्रिया गर्न पाउँदा खुशि लागेको बताउँदै आगामी दिनहरुमा नेपाली समुदायालाई काउन्सिल तथा स्थानीय निकाय एवं समुदायद्वारा आयोजना गरिने कार्यक्रमहरुमा सहभागि गराइने, तथा नेपाली समुदायको कार्यक्रमहरुमा पनि आफुहरुलाई सहभागि गराउन अनुरोध गरे।

भेटधाटको अन्तमा काउन्सिलरहरुले आगामी २१ अप्रिल २०१० मा हुनलागेको स्थानीय समुदायद्वारा आयोजित कार्यक्रममा नेपालीहरुलाई आमन्त्रित गरे भने नेपाली समुदायको तर्फबाट पनि आगामि १७ अप्रिल २०१०, शनिबार कार्डिफमा हुन गइरहेको नेपाली नयाँ वर्ष कार्यक्रममा काउन्सिलर- हरुलाई निमन्त्रण गरियो।

Monday, 8 March 2010

नव वर्ष २०६७ को कार्यक्रम सम्बन्धि जानकारी

-------------------------------------------------------------------------------------------------------------------------------------------------------
**यस अघिको ब्लगमा यो कार्यक्रम १३ अप्रिल २०१० मा गर्ने भनिएपनि बिभिन्न प्राविधिक कठिनाईहरुका कारण केहि दिन पर सार्नुपरेको कुरा अवगत गराउनुका साथै यसबाट पर्नगएको असुविधाको लागि क्षमा चाहन्छौं। **
-------------------------------------------------------------------------------------------------------------------------------------------------------

बिभिन्न साँस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमहरुको साथ नव वर्ष २०६७ लाई स्वागत गर्ने अभिप्रायले आउँदो १७ अप्रिल २०१० (०४ बैशाख २०६७) शनिवारको दिन वेल्स नेपाली समुदाय, कार्डिफले "नयाँ वर्ष २०६७" कार्यक्रम भब्य रुपमा आयोजना गर्दैछ। उक्त कार्यक्रममा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीको उपस्थिति एवं सहभागिताको अपेक्षा गर्दछौं। बिगतका कार्यक्रमहरु झैं यो कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभाव अपरिहार्य रहने छ। यो बिरानो मुलुकमा पनि हातमालो गर्दै आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन हात बढाऔं।

कार्यक्रम सम्बन्धि जानकारी यसप्रकार छ।

मिति : १७ अप्रिल २०१० (०४ बैशाख २०६७), शनिवार
समय : १५:०० बजे देखि २२:०० बजे सम्म
स्थान : St. Alban's Rugby Club
Tremorfa Park
Tremorfa
Cardiff
CF24 2RN
(कार्यक्रम स्थलको नक्सा ठुलो पारि हेर्न नक्सामै क्लिक गर्नुहोला)


बिगतका कार्यक्रमहरु जस्तै यसपालि पनि कार्यक्रम स्थलमा प्रवेशको लागि एक व्यक्ति एक टिकटको व्यवस्था गरिएको छ। टिकट अग्रिम खुला गरिएको हुनाले आफ्नो नजिक पर्ने कार्यसमिति सदस्यहरु मार्फत तोकिएको शुल्क तिरि टिकट लिन सकिनेछ।

टिकट दर यसप्रकार छ।
प्रतिव्यक्ति: १० पाउन्ड (१६ वर्ष वा सो भन्दा माथि)
५ पाउन्ड (१० वर्ष वा सो भन्दा माथि देखि १६ वर्ष मुनि सम्म)

नोट: १० वर्ष मुनीका वालवालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

अन्य जानकारीको लागि यस संस्थाका कुनैपनि कार्यसमिति पदाधिकारीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं।

Sunday, 7 March 2010

वेलायती सांसद र वेल्स एसेम्बलि सदस्यसँग भेटघाट

वेल्स नेपाली समुदाय, कार्डिफका सदस्यहरुको हित तथा स्थानीय कार्यक्रमहरुमा स्थानीय समुदायसँग सहकार्य जस्ता कुराहरुमा सामन्जस्य गर्ने उदेश्यले ५ मार्च २०१०, शुक्रवारको दिन हाम्रो संस्थाको एक प्रतिनिधि मण्डलले कार्डिफ सेन्ट्रललाई प्रतिनिधित्व गर्ने वेलायती संसद सदस्य "जेनि विल्लट" तथा वेल्स एसेम्बलि सदस्य "जेनि रेन्डरसन" सँग भेटघाट गर्यो। संस्थाका अध्यक्ष चित्र बहादुर राईको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा उपाध्यक्ष रविन्द्र तुम्बाहाम्फे, सह-कोषाध्यक्ष श्रीमती संगिता गुरुङ, सदस्य शिवजी श्रेष्ठ र युवा बिधार्थीको प्रतिनिधित्व गर्दै सुश्री सिमरन तुम्बाहाम्फे संलग्न हुनुहुन्थ्यो। गत वर्ष अगस्ट महिनामा स्थापना गरिएको हाम्रो समुदायले कार्डिफ एवं वरपर बसोबासरत नेपाली तथा नेपाली मूलका वेलायती नागरिकहरुलाई सामाजिक रुपमा संगठित गरि बिभिन्न कार्यक्रमहरु संचालन गरिसकेको छ। स्थानीय निकाय एवं समुदायसँग सहकार्य गर्ने उदेश्यले यस अघि पनि स्थानीय काउन्सिलर हुँदै सांसद एवं एसेम्बलि सदस्य सँग भेटघाट गरिएको हो।
उक्त भेटको अवसरमा हाम्रो प्रतिनिधि मण्डलले नेपालीहरुको वेलायतको स्थिति, वेल्समा नेपालीहरुको आगमन, संस्थाको उदेश्य, स्थानीयता सँगको सहकार्य, पूर्व गोर्खा सैनिकको समस्या, नेपाली विधार्थीहरुले भोग्नुपरेको बर्तमान समस्या, नेपाली कला, संस्कृति सँगै स्थानीय निकायले संचालन गर्ने कुनैपनि सामाजिक, साँस्कृतिक कार्यक्रममा नेपाली समुदायको सहभागिता, वेल्स तथा नेपाली बिधार्थीहरुबिच साँस्कृतिक आदानप्रदान लगायतका बिषयहरुमा छलफल भएको थियो। सो भेटघाटमा सांसद तथा एसेम्बलि सदस्यहरुले अभिरुचिपूर्वक नेपालीहरुको वेल्समा उपस्थिति, संख्यात्मक स्थिति, नेपाली संस्कृति, नेपाली बालबालिकाहरुको साथै नेपाली राष्ट्रिय दिवसको बारेमा समेत चासो राखेका थिए। सो अवसरमा सांस्द एसेम्बलि सदस्यहरुले नेपाली राष्ट्रिय दिवसमा आफुहरुलाई पनि सहभागि गराउन र वेल्सको स्थानीय गतिविधिमा नेपालीहरुलाई सहभागि हुन अनुरोध पनि गरे।
सहकार्य, साँस्कृतिक सहसम्बन्ध र सदभावको चिनारी दिने उदेश्यले हाम्रा प्रतिनिधिहरु कोहि नेपाली दौरासुरुवाल, कोहि नेपाली महिला पोशाक, कोहि स्थानीय वेल्सको चिन्ह झल्किने पोशाकमा गएका थिए। यस्तो कार्य र नेपाली प्रतिनिधिहरुबाट आफुहरु प्रभावित भएको बताउँदै सांसद विल्लटले यसलाई सकारात्मक रुपमा लिएको भन्दै सहकार्यको लागि आफुहरु उत्सुक रहेको समेत उल्लेख गरिन।
भेटघाटको क्रममा वेल्स नेपाली समुदाय, कार्डिफको तर्फबाट अध्यक्ष चित्र बहादुर राईले वेल्स एसेम्बलि सदस्यलाई कलात्मक नेपाली आँखिझ्याल तथा विश्वप्रसिद्ध परम्परागत नेपाली खुकुरीको मिनियचर पनि प्रदान गर्नुभएको थियो।